रातभर उत्तर कोरियामा सैन्य परेड

असोज २५, काठमाडौं ।
उत्तर कोरियाले शनिबार राति भव्य सैन्य परेड आयोजना गरेको छ ।

सत्तारुढ वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवका अवसरमा सैन्य परेड आयोजना गरिएको बताइएको छ । नयाँ मिसाइल र हतियार देखाउनुपर्दा उत्तर कोरिया सैन्य परेड आयोजना गर्नेगर्छ ।

शनिबारको परेडमा पनि इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रदर्शन गरिएको छ । दुई वर्षयता पहिलोपटक यस्तो परेड आयोजना गरिएको हो ।

अमेरिकी राष्ट्रपति चुनावअघि उत्तर कोरियाले यसरी नयाँ हतियार प्रदर्शन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । दक्षिण कोरियाली सेनाका अनुसार शनिबार राति यो परेड गरिएको थियो ।

तर राति नै यस्तो परेड किन निकालियो भन्नेबारेमा अझै स्पष्ट भएको छैन । परेडमा नेता किम जोङ उन खरानीरंगको वेस्टर्न सुटमा देखिएका छन् ।

परेडको अवसरमा दिएको भाषणमा उनले आत्मरक्षा तथा आक्रमणको जवाफ दिनका लागि सेनालाई मजबुत बनाउन जरुरी भएको बताएका थिए ।

उनले कोरोना भाइरसबाट प्रभावित विश्वका मुलुकका नागरिकको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उत्तर कोरियामा हालसम्म कोरोना संक्रमण नभएको दाबी गरिन्छ ।
(एजेन्सी)