नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल र बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी निर्वाचित

नेपाल चिकित्सक संघ (एनएमए)को अध्यक्षमा डा. बद्री रिजाल विजयी भएका छन्। तीन हजार १९६ मतसहित डा. रिजाल अध्यक्ष निर्वाचित भएका हुन्।

रिजालका निकटतम् प्रतिस्पर्धी डा. मंगल रावलले दुई हजार ९४० र डा. नारायण प्रसाद भुसालले ८६९ मत पाए। अन्य अधिकांश पदमा पनि डा. रिजालको प्यानलले जित हात पारेको छ।

अन्तिम मतपरिणामअनुसार दुई उपाध्यक्ष र तीन सदस्यबाहेक अन्य सबै महत्त्वपूर्ण पदमा डा. रिजाल प्यानलकै विजयी भएका हुन्। एनएमएको १९ सदस्यीय कार्यसमिति रहन्छ। विभिन्न पदमा डा. रिजाल र रावल प्यानलबाट ५६ जना उम्मेदवार थिए।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा तीन हजार ३६ मतसहित डा. सञ्जीव तिवारी निर्वाचित भएका छन्। महासचिवमा दुई हजार ७२२ मतसहित डा. विश्वराज दवाडी, कोषाध्यक्षमा तीन हजार १८६ मतसहित डा. संयुक्त आचार्य, सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित भए।

त्यस्तै, संघको प्रदेश संयोजकतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी निर्वाचित भएका छन्।