काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरिकहरूका लागि १३ जिल्लाका निषेधित क्षेत्रमा गरिने पदयात्रा अनुमति प्रक्रियामा नयाँ व्यवस्थाहरू लागू गरेको छ । विभागका अनुसार अबदेखि पदयात्रा अनुमति सम्बन्धी सम्पूर्ण कार्यहरू अनलाइन प्रणालीमार्फत नै सम्पन्न हुनेछन् ।
सेवाग्राहीको सहजताका लागि विभागले अब भिसा नम्बरका अतिरिक्त भिसा आवेदन नम्बरका आधारमा पनि पदयात्रा अनुमतिका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको छ । यसका साथै अब एक जना मात्र पदयात्रीलाई पनि पदयात्रा अनुमति प्रदान गरिने विभागले जनाएको छ ।
सरकारले हालै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेसँगै पदयात्रा अनुमति लिने पर्यटक र ट्रेकिङ एजेन्सीहरूलाई समस्या परेको भन्दै विभागले अर्को कार्यतालिका सार्वजनिक गरेको छ ।
अब शनिबार बाहेकका अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि विभागले बिहान ११ः ०० बजेदेखि दिउँसो १ः ०० बजेसम्म दुई घण्टा पदयात्रा अनुमतिका लागि कार्यालय खोल्ने निर्णय गरेको छ
यो व्यवस्थाले पदयात्रामा जाने पर्यटकहरूका लागि अनुमति लिने प्रक्रियालाई थप पूर्वानुमानयोग्य र छरितो बनाउने विश्वास लिइएको छ । पदयात्रा अनुमतिका सबै प्रक्रिया अनलाइन माध्यमबाट हुने भएकाले अब सेवाग्राहीहरू विभागमा भौतिक रूपमा उपस्थित भइरहनु पर्ने छैन ।
अनुमति विना ट्रेकिङ
अध्यागमन विभागले केही ट्रेकिङ एजेन्सीहरूले गरिरहेका गैरकानुनी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही एजेन्सीहरूले पदयात्री रेस्क्युको बहानामा जुनसुकै बेला कर्मचारीलाई दबाब दिने, अनुमति नलिई पदयात्रीहरूलाई निषेधित क्षेत्रमा लैजाने र स्थानीय प्रशासनले फेला पारेपछि मात्र अनुमतिका लागि आवेदन दिने गरेको पाइएको छ ।
यस्ता गतिविधिले निर्दोष पर्यटकहरू कानुनी कारबाहीमा पर्ने जोखिम बढ्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परिरहेको विभागको ठहर छ । विभागले पदयात्रा अनुमति लिएर मात्र विदेशी पर्यटकहरूलाई पदयात्रामा लैजान सबै ट्रेकिङ एजेन्सीहरूलाई पुनः आग्रह गरेको छ ।








