कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम खोलिने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा सरसफाइ तथा मर्मतसम्भार कार्यका लागि ड्यामका सबै गेट खोलिने भएको छ । आयोजनाले २५ वैशाख साँझदेखि मर्मत कार्य सुरु गरिने जनाएको हो ।

केन्द्रका अनुसार साँझ ५ बजेदेखि पावरहाउसका तीनवटै मेसिन पूर्ण रूपमा बन्द गरी सरसफाइ तथा प्राविधिक मर्मतको काम अघि बढाइनेछ । सो अवधिमा सुरुङमार्फत पावरहाउसतर्फ जाने पानीलाई डाइभर्ट गरिने र ड्यामका सम्पूर्ण गेट खोलिने जनाइएको छ ।

यसका कारण कालीगण्डकी नदी मा पानीको बहाव सामान्य अवस्थाभन्दा बढ्न सक्ने तथा नदी सतह अस्थायी रूपमा उच्च हुन सक्ने आयोजनाले चेतावनी दिएको छ ।

आयोजनाले नदी किनार आसपास बसोबास गर्ने स्थानीयवासी, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तटीय क्षेत्रमा रहेका निर्माण सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न अनुरोध गरिएको छ ।

त्यस्तै, मर्मत कार्य सञ्चालन हुने अवधिमा नदी किनार क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि आग्रह गरिएको छ ।

आयोजनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन सबै सरोकारवालालाई अनुरोध गरेको छ ।