‘स्ट्रेट अफ हर्मुज’मा इरान र अमेरिकाको भिडन्त, दुबैले एक अर्कालाई लगाए आरोप

युद्ध अन्त्य नजिक पुगेका समाचारहरु बिच ‘स्ट्रेट अफ हर्मुज’ मा इरान र अमेरिकाबीच गोलाबारी भएको छ। दुबैले एक अर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन्।

इरानको सरकारी प्रसारकका अनुसार हर्मुज क्षेत्रमा विस्फोटका आवाज आएका छन्। प्रसारकले इरान र ‘शत्रु’बीच गोली हानाहान भएको जनाएको छ ।

अमेरिकी सेनाको युनाइटेड स्टेट सेन्ट्रल कमान्डले अमेरिकी नौसेनाका गाइडेड-मिसाइल विध्वंसक जहाजहरू गल्फ अफ ओमान तर्फ जाँदै गर्दा इरानले हमला गरेको र अमेरिकी सेनाले आत्मरक्षाका लागि जवाफी कारबाही गरेको दाबी गरेको छ।

सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार तीन अमेरिकी जहाज उक्त क्षेत्र हुँदै गुज्रिरहेका बेला इरानी फौजले धेरै मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेको थियो ।

उसले विज्ञप्ति जारी गर्दै भन्यो ‘सेन्ट्रलकम तनाव बढाउन चाहँदैन, तर अमेरिकी फौजको सुरक्षाका लागि पूर्ण रूपमा तयार अवस्थामा छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी जहाजहरूमा ‘ठूलो क्षति’ पुगेको दाबी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको सम्झौता स्वीकार गर्न आग्रह गरेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइ‍आरजिसी)ले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ।

साथै तेहरान नजिकै रहेको केश्म टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको इरानको दाबी छ। इरानी अर्ध-सरकारी सञ्चारमाध्यम फारसीका अनुसार पर्सियन खाडीस्थित केश्म टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो।