प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ 

काठमाडौँ । प्रधान न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरिएका तीन वटा रिट निवेदन दरपिठ भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा तथा अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेका रिट निवेदन शुक्रबार दरपिठ गरिएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

प्रधान न्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसमा न्यायालयको स्थापित वरीयता प्रणाली उल्लंघन भएको दाबी गर्दै निवेदकहरूले अदालतमा कानुनी उपचार माग गरेका थिए ।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।