काठमाडौँ। रौतहट जिल्लामा लागुऔषधको बढ्दो कारोबार तथा प्रयोगलाई नियन्त्रण गर्ने उद्देश्यसहित प्रहरीले विशेष अभियान सञ्चालनमा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ‘लागु औषध नियन्त्रण, सेवनकर्ता पहिचान तथा सुधार अभियान’ नामक कार्यक्रम सुरु गरिएको हो । पछिल्ला समय युवापुस्तामा लागु औषध प्रयोग र अवैध कारोबार बढ्दै गएको देखिएपछि यसलाई नियन्त्रण तथा न्यूनीकरण गर्न अभियान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपाल-भारत सीमावर्ती क्षेत्र तथा चन्द्रनिगाहपुरलगायत जिल्लाका विभिन्न स्थानमा लागु औषध सेवनकर्ता तथा कारोबार बढेको पाइएको सन्दर्भमा प्रहरी सक्रियता बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा लागु औषध सम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सोही अवधिमा ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० ले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार लागु औषध नियन्त्रणलाई केवल पक्राउ र कारबाहीमा सीमित राख्दा समस्या दीर्घकालीन रूपमा समाधान नहुने निष्कर्षसहित शुक्रबारदेखि सुधारमुखी अभियान सञ्चालन गरिएको हो ।
तथ्यांकले सीमावर्ती क्षेत्र हुँदै लागुऔषधको ओसारपसार बढ्दै गएको र त्यसको असर विशेष गरी युवापुस्तामा देखिन थालेको संकेत गरेको प्रहरीले जनाएको छ ।
बेरोजगारी, पारिवारिक निगरानीको कमी, सीमा क्षेत्रमा सहज आवागमन तथा साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग बढी जोखिममा परिरहेको समेत प्रहरीको मूल्यांकन छ ।
उनका अनुसार लागु औषध नियन्त्रण केबल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा ‘लागु औषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ शुक्रबारदेखि सुरु गरिएको हो ।
प्रहरीको तथ्यांकले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागु औषध ओसारपसार तथा युवामा यसको प्रयोग बढ्दै गएको देखाइरहेको छ ।







