बादलका केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

काठमाडौँ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ ले व्यक्त गरेका केही टिप्पणी संसद्को आधिकारिक अभिलेखबाट हटाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था विपरीत प्रयोग भएका अभिव्यक्तिहरू हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्। नियमावलीको दफा २१ अन्तर्गत असंसदीय, आपत्तिजनक वा मर्यादाविपरीत अभिव्यक्तिलाई रेकर्डबाट हटाउन सकिने व्यवस्था छ।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जेन जेड आन्दोलन र नेपाली सेनासम्बन्धी विभिन्न प्रश्न उठाएका थिए। उनले राष्ट्रिय सुरक्षा, सीमासम्बन्धी विषय तथा आन्दोलनका क्रममा देखिएका घटनाप्रति टिप्पणी गरेका थिए।

उनका अभिव्यक्तिमध्ये केही विषय संसद्को मर्यादा र नियमावलीसँग मेल नखाने निष्कर्षसहित सभामुखले रेकर्डबाट हटाउन आदेश दिएका हुन्।

प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले छलफलका क्रममा सभामुखको अनुमति लिएर मात्र बोल्नुपर्ने, असंसदीय शब्द प्रयोग गर्न नहुने तथा कुनै व्यक्ति, संस्था, समुदाय वा संवैधानिक निकायलाई होच्याउने शैलीमा अभिव्यक्ति दिन नपाइने स्पष्ट व्यवस्था छ।

त्यस्तै, संविधानको धारा १०५ अनुसार न्यायिक प्रक्रियामा असर पर्ने विषयमा संसद्मा छलफल गर्न नहुने प्रावधानसमेत रहेको छ। नियमावलीले सांसदलाई प्राप्त अभिव्यक्ति स्वतन्त्रताको प्रयोग सदनको कामकारबाही अवरुद्ध हुने वा मर्यादाविपरीत हुने ढंगले गर्न नपाइने व्यवस्था पनि गरेको छ।