एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको जनाइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेहरूको सङ्ख्या पाँच जना पुगेको जनाएको छ । जसमा दुई जना घाइतेहरूको अवस्था चिन्ता जनक भएकाले नागरिक सुरक्षा एजेन्सिको सहयोगमा उच्च निगरानीको साथ औषधी उपचार गरिरहेको जनाइएको छ ।
नबातीह जिल्लाको जेबचित सहरमा भएको हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिकसहित चार जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिन्ट जेबिल जिल्लाको कफार्डोनिनमा भएको हवाई आक्रमणमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गत मार्च –२ देखि लेबनान विरुद्ध चलिरहेको इजरायली आक्रमणमा परी मृत्यु हुनेहरूको सङ्ख्या दुई हजार ८८२ जना पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार घोषणा गरेको छ भने , आक्रमणका क्रममा आठ हजार ७६८ घाइते भएको जनाइएको छ ।







