काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सञ्चालन भइरहेको दोस्रो चरणको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ ले हालसम्म ८७.०८ प्रतिशत कार्य सम्पन्न गरेको छ। बाँकी कार्य असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित देशभर गणना गतिविधि निरन्तर अघि बढाइएको छ।
थापाथलीस्थित कार्यालयमा आयोजित नियमित जानकारी कार्यक्रममा प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना निर्धारित समयअनुसार असार ७ सम्म सञ्चालन हुने स्पष्ट पारे।
उनका अनुसार देशका विभिन्न क्षेत्रहरूमा परिचालित गणकहरूले घरदैलो तथा प्रतिष्ठानस्तरमै पुगेर विवरण संकलन कार्यलाई तीव्रता दिइरहेका छन्। हालसम्म ८ लाखभन्दा बढी कागजी विवरण फारम वितरण भइसकेका छन् भने १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ समेत प्रयोगमा ल्याइएको कार्यालयले जनाएको छ।
यसै क्रममा प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोख्रेलले आर्थिक गणनाले मुलुकको आर्थिक संरचना, व्यावसायिक अवस्था, श्रम बजार तथा उत्पादन प्रणालीबारे यथार्थपरक तथ्यांक उपलब्ध गराउने बताएका छन्।
उनले व्यवसाय तथा प्रतिष्ठान सञ्चालकलाई सही र प्रमाणिक विवरण उपलब्ध गराउन आग्रह गर्दै गणना कार्यमा सहजीकरण गर्न सञ्चार माध्यम, विशेष गरी रेडियोको भूमिकालाई महत्वपूर्ण ठहर गरेका छन्।
डा. पोख्रेलका अनुसार यस गणनाबाट प्राप्त तथ्यांकले राष्ट्रिय लेखा प्रणाली तथा कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्यलाई अद्यावधिक र समयसापेक्ष बनाउन सहयोग पुग्नेछ।
साथै, संक्लित विवरणले संघीय संरचनाअन्तर्गत संघ, प्रदेश र स्थानीय तहका सरकारलाई नीति निर्माण, योजना तर्जुमा तथा कार्यक्रम मूल्यांकनमा आधारभूत तथ्यगत सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ।







