सरुवा भएको महिना बित्दा पनि कृषि मन्त्रालयका वेबसाइट अद्यावधिक छैनन्

काठमाडौं। सहसचिव जानुका पण्डितको सरुवा भएको करिब एक महिना बितिसक्दा पनि साबिकको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइट अद्यावधिक नभएको पाइएको छ, जसले प्रशासनिक बेवास्ता र सूचना व्यवस्थापनमा कमजोरी उजागर गरेको छ।

वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले जानुका पण्डितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश सरुवा गरेको थियो। त्यसपछि वैशाख २४ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशको सचिवको जिम्मेवारी तोकेको थियो।

तर,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइटमा अझै पनि उनको फोटो र पुरानै जिम्मेवारी कायम रहेको देखिन्छ। मन्त्रालयको नाम परिवर्तन भई वेबसाइटमा नयाँ नाम कृषि, वन तथा पर्यावरण मन्त्रालय राखिएको भए पनि प्रवक्ताको विवरण अद्यावधिक गरिएको छैन।

उता लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको वेबसाइटमा भने सचिवको रूपमा जानुका पण्डितको नाम राखिसकिएको छ।

सरकारले डिजिटल सुशासन र पारदर्शिताको कुरा गर्दै आएको भए पनि यस्ता सामान्य अद्यावधिकमा समेत ढिलाइ हुनु विडम्बनापूर्ण देखिएको छ। सम्बद्ध निकायहरूबीच समन्वयको अभाव र जिम्मेवारी वहनमा कमजोरीका कारण यस्तो अवस्था आएको देखिन्छ।