भारत र चीनबीच आज वार्ता हुँदै

असोज २६, काठमाडौं ।
भारत–चीन सीमा पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि सोमबार दुवै देशका सैनिकबीच सातौं चरणको वार्ता हुँदैछ ।

भारतका सञ्चारमाध्यमले भारत र चीनबीच सैन्य कमान्डरस्तरमा सीमा क्षेत्र पूर्वी लद्दाखमै आज वार्ता हुने उल्लेख गरेका छन् । सीमा वार्तामा पहिलोपटक चीनको कूटनीतिक प्रतिनिधि पनि सहभागी हुने समचारमा जनाइएको छ ।

भारतीय पत्रिकाका अनुसार वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने सम्भावना छ ।

यसअघि गत सेप्टेम्बर २१ मा भएको छैठौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वीएसिया) नवीन श्रीवास्तव सहभागी भएका थिए ।

एक भारतीय पत्रिकाले लेखेको छ, ‘जबसम्म चीनले पेङगोङ त्सो तालको उत्तरी क्षेत्र र फिङ्गरबाट आफ्ना सेना हटाउँदैन, तबसम्म बैठकबाट कुनै उपलब्धि आउने आशा गर्न सकिन्न ।’

गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सेना मारिएका थिए । चीनतर्फ के कति क्षति भयो अहिलेसम्म चीनले जानकारी दिएको छैन ।

त्यसयता सीमामा दुई देशबीच दुश्मनी बढेको छ । पटकपटक वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन । (एजेन्सी)