काठमाडाैं – रास्वपाका सांसद भरत पराजुलीले अरनिको राजमार्ग निर्माणका क्रममा सडक र नाला निर्माण भएको भाग बाहेक बाँकी जग्गाको लगत अझैसम्म कट्टा नगरिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सडक सीमाका दायाँ–बायाँका जमिनको स्वामित्व नागरिककै नाममा आजसम्म पनि सुरक्षित रहेको र भूमिकर तिरिरहेको बताए।
उनले भने, ‘राजमार्गको दोलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे र तातोपानी क्षेत्रमा राजमार्ग निर्माणसँगै बजार विकास भई आर्थिक कारोबारका केन्द्रका रूपमा यी क्षेत्रले जनताहरूलाई सेवा दिइरहेका छन्। बजारका अधिकांश घरहरू पुस्तान्तरण भएर स्वामित्व हस्तान्तरण भएका हुन्। अझै अतिक्रमण भएका होइनन्।’
हाल स्थानीय तहले संघीय सरकारको निर्देशन भनेर डोजर आतंक सिर्जना गरी नागरिकलाई त्रसित बनाएको बताए।
उनले भने, ‘यसखालको स्थानीय सरकारको निर्णयबाट नागरिकको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हकको हनन् हुने अवस्था आएको छ। रणनीतिक राजमार्ग भएकोले यसको विस्तार र स्तरोन्नति हुनुपर्छ। यसमा नागरिकहरूको पूर्ण सहयोग रहन्छ।’







