सुदूरपश्चिममा नेकपाको परामर्श बैठक र प्रशिक्षण हुँदै, माधव पुगे, प्रचण्डसहितका नेता पुग्दै

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज र भोलि सुदूरपश्चिम प्रदेशमा रहेका केन्द्रीय सदस्य तथा पार्टीका नेताहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

आज केन्द्रीय सदस्यहरूसँग परामर्श बैठक बस्ने र भोलि प्रदेश कमिटीका सदस्यहरूसम्मलाई प्रशिक्षण कार्यक्रममा राख्ने गरी नेकपाले कार्यक्रम तय गरेको छ ।

कार्यक्रमका लागि नेकपाका सहसंयोजक माधव कुमार नेपाल र भीम रावल हिजै धनगढी पुगिसकेका छन् भने आज संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रञ्जिता श्रेष्ठलगायतका नेताहरू आउँदैछन् ।

पहिलो दिन परामर्श बैठक र दोस्रो दिन प्रशिक्षण कार्यक्रम रहेको नेकपाका सहसंयोजक खगराज भट्टले जानकारी दिए ।

पार्टीको वैचारिक, सांगठनिक र भावनात्मक एकता मजबुत बनाउन, जनताको आवश्यकता र पार्टीको जिम्मेवारी अझै बलियो बनाउन कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

‘यो कार्यक्रमले नेकपालाई जनताको लोकप्रिय, विश्वसनीय र अग्रगामी शक्तिका रूपमा अझै स्पष्ट बनाउनेछ,’ उनले भने, ‘प्राविधिक कारणले हामी निर्वाचनमा पराजित भएका हौँला, तर अझै पनि जनतामा नेकपाप्रति विश्वास छ । त्यो विश्वासलाई गति दिन र समाज रूपान्तरणमा लाग्न यो कार्यक्रमले भूमिका खेल्नेछ ।’

नेकपा सुदूरपश्चिम इञ्चार्ज भानुभक्त जोशीले सरकार जनताको भावनाभन्दा बाहिर हिँड्दै गइरहेको भन्दै सही बाटोमा ल्याउनुपर्ने दायित्व पनि नेकपासँग रहेको बताएका थिए ।

नेता–कार्यकर्ताहरूको कुरा सुन्दै, त्यसअनुसार पार्टी रूपान्तरणका लागि सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

विगतका कमजोरीहरू सुधार गर्दै आगामी दिनमा बलियो शक्तिका रूपमा स्थापित हुन सुदूरपश्चिम प्रदेशको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जोशीको भनाइ छ ।