एमाले सांसद राई भन्छन्- रविको खुट्टा देखिसक्यौँ, बालेनलाई घुँडा टेकाइदिनसक्छौं

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेको पनि आलोचना गरे।

उनले भने, ‘तपाईँहरूले सहयोगमा रहनुभयो भने बालेन शाहलाई हामी घुँडा टेकाउँछौँ। यसको खुट्टा कस्तो रहेछ भने देखिसक्यौँ। यसको पार्टी पनि देखियो। रवि लामिछानेले दमदार भाषण गर्नुभयो। मेरो सबै सांसदहरूले मैले जे भने पनि मान्नुहुन्छ भनेर। सदनमा एउटा प्रधानमन्त्रीलाई ल्याउन सक्नुभयो ? भागेर हिँड्ने मान्छेले मुलुक बनाउन सक्छ?’

उनले सरकार विधिमा नचलेको बताए।

उनले थपे, ‘सरकारलाई मसँग धेरै सिट छ भन्ने दम्भ छ। यही सिटको आधारमा पेलेर जान्छु भन्ने मान्यता राखेको छ। यो मान्यता किन राख्यो? उसले हिजो समाजको निम्ति काम गर्ने मान्छे कोही आएको छैनन्।’

उनले सरकारले जीवी राईलाई पक्राउ गरेर ल्याउन नसकेको भन्दै आलोचना गरे। उनले भने, ‘ठुलठुला कुरा गर्थ्यो। माटोमुनि पसे पनि जहाँ भए पनि ल्याउँछौँ भन्थे। जीवी राईलाई ल्याउन सक्यो?’