दक्षिण-पूर्वी एसियाका अवैध स्क्याम सेन्टरबाट ६८७ नेपाली उद्धार

काठमाडौँ – दक्षिण-पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालन भइरहेका अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका नेपाली नागरिकको उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ । हालसम्म ६ सय ८७ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस तथा थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित गैरकानुनी स्क्याम सेन्टरमा विभिन्न प्रलोभनमा परेर पुगेका नेपालीको खोजी तथा उद्धार निरन्तर भइरहेको बताए ।

उनका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोग तथा सम्बन्धित निकायबीचको समन्वयमा यसअघि ६१६ जनाको उद्धार गरिएको थियो । पछिल्लो दुई सातामा थप ७१ जनालाई उद्धार गरी नेपाल फर्काइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, लाओसबाट ८ तथा थाइल्यान्डबाट ६ जना नेपाली स्वदेश फर्किएका छन् ।

प्रवक्ता क्षेत्रीले उक्त क्षेत्रमा अझै पनि केही नेपाली फसेको अनुमान गरिएको जानकारी दिए । उनका अनुसार नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारले हालसम्म १०२ नेपालीमाथि लगाइएको जरिबाना मिनाहा गरिसकेको छ भने थप १७२ जनाको जरिबाना छुटका लागि पहल भइरहेको छ ।

त्यसैगरी संगठित अपराध तथा मानव तस्करीसम्बन्धी आरोपमा थुनामा रहेका नेपाली नागरिकको रिहाइ तथा उद्धारका लागि पनि बैंककस्थित नेपाली दूतावासमार्फत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

म्यानमारमा हिरासतमा रहेका १८ नेपालीको कैद मिनाहाका लागि समेत आवश्यक पहल जारी रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको जानकारी मन्त्रालयले दिएको छ ।