बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । त्यसैगरी कर्णाली प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि पनि सदस्य रहनेछन् ।

नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । समितिलाई सीमा विवादसँग सम्बन्धित प्राविधिक पक्षको अध्ययन, तथ्य संकलन तथा प्रतिवेदन तयार गरी सरकारसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको जनाइएको छ ।

बाजुरा-हुम्ला सीमा विवादबारे सघन छलफलपछि समिति गठन गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

बाजुराको हिमाली गाउँपालिका-३ अन्तर्गत लाम्पाटा क्षेत्रमा सीमा विवादलाई लिएर केही दिनअघि स्थानीयबीच कुटपिटको घटना भएको थियो । हुम्लाको खर्पुनाथ गाउँपालिका-२ थाली र बाजुराको लाम्पाटा क्षेत्रका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमांकनलाई लिएर लामो समयदेखि विवाद कायम रहेको जनाइएको छ ।

पछिल्लो विवादका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनमार्फत दृश्य संकलनका लागि पुगेपछि अवस्था तनावग्रस्त बनेको र स्थानीयबीच झडप भएको थियो ।