असोज २७, काठमाडौं ।
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त राज्य अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका दुई प्राध्यापकलाई प्रदान गरिने भएको छ ।
उनीहरूले लिलाम बढाबढ सम्बन्धि नयाँ सिद्धान्त पत्ता लगाएकाले नोबेल पुरस्कार दिन लागिएको हो । लिलाम बढाबढ अर्थात् अक्सन सम्बन्धी सिद्धान्तलाई नयाँ तरिकाले परिभाषित गर्न योगदान गरेको र यसको नयाँ फर्मुलासमेत पत्ता लगाएका दुईजना अर्थशास्त्रीहरू पउल मिलग्रोम र रोबर्स विल्सनले नोबेल पुरस्कार पाउने भएका हुन् ।
विभिन्न प्रकारका वस्तु र सेवाको लिलाम बढाबढमा मूल्य निर्धारणको स्थितिले कसरी काम गर्छ ? र लिलाम प्रक्रियामा विगतदेखि चलिआएको बढाबढको सिद्धान्तमा कसरी परिमार्जन गर्न सकिन्छ भनी यी दुई अर्थशास्त्रीले अनुसन्धान गरेका थिए ।
उनीहरुले पत्ता लगाएको सिद्धान्तले वस्तु तथा सेवाको क्रेता, बिक्रेता र करदातासमेतलाई फाइदा पुग्नेगरी लिलाम प्रक्रियाको नयाँ अवधारणालाई समेटेको छ । (एजेन्सी)







