चीनसँगको सीमास्तम्भ फेरिएको आशंका

असोज २७, काठमाडौं ।
कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनसँगको सीमास्तम्भ फेरिएको हो कि भनेर आशंका व्यक्त गरेका छन् ।

हुम्लाको लाप्चाबगरमा नेपाल र चीनबीचको ११ नम्बर सीमास्तम्भ फेरिएकोबारे उनले शंका लागेको बताए । चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेकोे उनले बताएका छन् ।

नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले सीमास्तम्भमा कोरिएका देवनागरी लिपि फरक फरक भएको, सीमास्तम्भको आकार नयाँ निर्माण गरिएको र ‘पुराना स्तम्भको टुक्रा सोही ठाउंँमा भेटेको’ उनले बताए ।

नाम्खा गाउँपालिका वडा नं ६ लिमी, लाप्चामा अनुगमन गरी सदरमुकाम सिमकोट आएलगत्तै आयोजित पत्रकार सम्मेलनमा शाहीले लोलुगङ्जोग र लिमी, लाप्चाको सीमामा चीन सरकारले ६ महिनाअघि नै नयाँ पिल्लर निर्माण गरेको जिकिर गर्दै लिमी लाप्चामा चीनले भवन निर्माण गरेको स्थानसमेत नेपालको भएको दाबी गरे ।

शाहीले टोलीले तयार पारेको स्थलगत प्रतिवेदनबारे जिल्लाका सर्वदलीय बैठक र स्थानीय अधिकारीलाई पनि जानकारी गराइने र केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली कांग्रेसका सभापति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षलगायत नेतासमक्ष प्रस्तुत गरिने उनले बताए ।