काठमाडौँ। प्रधामनन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको छࡆ’ भनी संसदमा दिएको अभिव्यक्तिप्रति कूटनीतिक क्षेत्रका जानकारहरूले चिन्ता जनाएका छन्। उनको अभिव्यक्ति कूटनीतिक मयार्दाविपरीत रहेकोले सच्याउनुपर्ने उनीहरूको भनाइ छ।
पूर्वपरराष्ट्रमन्त्री एवं एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले नियतवश अभिव्यक्ति दिएको आरोप लगाए।
‘यो आपत्तिजनक छ। यो सन्देहपूर्ण पनि छ। प्रधानमन्त्रीले यो विषय अज्ञानतावश मात्र बोलेको हो जस्तो पनि मलाई लाग्दैन,’ ज्ञवालीले , ‘यो गलत बोल्नुभयो।
प्रधामनन्त्रीको अभिव्यक्तिले दूरगामी प्रभाव पार्ने ज्ञवाली चिन्ता व्यक्ति गर्छन्।
‘कुनै पनि देशको कार्यकारी प्रमुखले सार्वभौम रोस्ट्रममा उभिएर हाम्रो देशले अरुको सीमा मिचेको छ भन्नु भनेको सामान्य विषय होइन, आपत्तिजनक हो,’ उनले थपे, ‘नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्तासहितमा हाम्रो भूभाग मिचिएको छ त्यससम्बन्धी हाम्रो कूटनीतिक पहल छ, त्यसलाई यो अभिव्यक्तिले स्वतः कमजोर बनाउँछ। हाम्रो दाबी नै कमजोर हुन्छ। अहिले जहाँजहाँ उपभोग गरिएको छ, त्यसमै गएर टुंगो लगाइदिऊँ भन्ने ठाउँमा लैजान्छ।’
भारतसँग नेपालको अतिक्रमित सीमा विवाद टुंगो लगाउन वार्तामा बस्दा अब तल पर्ने अभिव्यक्ति प्रधानमन्त्रीले दिएको भन्दै एमाले नेता ज्ञवालीले आपत्ति जनाए।
‘हाम्रो अतिक्रमित भूमि वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने छ, प्रधानमन्त्रीको अभिव्यक्तिले एकाएक प्रतिरक्षात्मक बनाउँछ। नेपालको दाबीलाई कमजोर गर्छ। र, टेबुलमा नेपालको हात तल पर्छ,’ उनी भन्छन्।
अर्का पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि प्रधामनन्त्रीले अत्यन्त गैरजिम्मेवार र घातक अभिव्यक्ति दिएको भन्दै तत्काल सच्याउन माग गरे।
‘नेपालले भारतको सीमा मिचेको छ भनेर प्रधानमन्त्रीले अत्यन्तै गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो। यसले नेपालको राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्याएको छ,’ श्रेष्ठले भने, ‘नेपालले भारतको कुनै सीमा मिचेको छैन। ज्वइन्ट टेक्निकल कमिटीमा भएको निष्कर्ष के हो भने सुस्ता र कालापानी क्षेत्रको बाहेक अरु सबै नक्साहरू सहमतिमै तयार भएका छन्।’
प्रधानमन्त्रीको भनाइले भारतले सीमा मिचेका हाम्रा जग्गा फिर्ता ल्याउन भइरहेको पहललाई कमजोर बनाउने चिन्ता उनले जनाए।
‘नेपालको प्रधानमन्त्रीले संसदमा अत्यन्त घातक र गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो, यसलाई प्रधानमन्त्रीले तत्काल सच्याउनुपर्छ,’ उनले भने।
यस्तै, पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेसका नेता प्रकाशशरण महतले नेपालले कुनै देशको सीमा मिच्न नसक्ने दाबी गरे।
‘प्रधानमन्त्रीले यसरी बोल्नु भनेको सामान्य कुरा होइन। कहाँ मिचिएको छ भनिदिनुपर्यो, यस्तो गम्भीर विषयमा बोलिँदैन। हाम्रो स्ट्रेन्थको आधारमा जबर्जस्ती गरेर न मिच्न सकिन्छ,’ उनले भने, ‘म पनि परराष्ट्र मन्त्रालय चलाएर आएको व्यक्ति हुँ। नेपालले कतै मिचेको जानकारी पाएको छैन।’
पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता कमल थापा पनि प्रधानमन्त्रीले अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै सच्याउन आग्रह गर्छन्।
‘भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भइरहेका बेला प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिनुभएको भनाइ पूर्णतः गैरजिम्मेवारपूर्ण छ। म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ,’ उनले भनेका छन्।
प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट हटाउन माग
प्रधानमन्त्रीको भनाइपछि संसद् पनि तातेको छ। उनको अभिव्यक्तिप्रति कांग्रेस र नेकपाले तत्कालै विरोध जनाएका छन्।
उनीहरूले सो भनाइ संसदको रेकर्डबाट हटाउन माग गरे।
कांगेसकी प्रमुख सचेतक बासना थापा र नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीले गम्भीर अभिव्यक्ति दिएको संसदको रेकर्डमा नराख्न सभामुखलाई आग्रह गरेका हुन्।
कांग्रेस प्रमुख सचेतक थापाले नेपालले भारतको सीमा मिचेको जानकारी संसदलाई गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।
‘प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचिएको भन्नुभयो, यो कहाँनेर मिचियो? यो छिटोभन्दा छिटो हामीलाई अवगत गराउनुपर्यो,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्यो। यदि यो असत्य र सही होइन भने संसदको रेकर्डबाट हटाइयोस्।’
यसैगरी नेकपाका सांसद रमेश मल्लले राष्ट्रिय अखण्डताको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डमा राख्न नहुने बताए।
‘मुलुकको राष्ट्रिय अखण्डताको विषयमा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीले सदनको रोस्ट्रमबाट व्यक्ति गर्नुभएको छ, यो सामान्य विषय छैन,’ मल्लले भने, ‘उहाँले अनौपचारिक विषय राखेको जस्तो सम्झनुभएको हो कि! प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई हामीले संसदको तर्फबाट करेक्सन गर्नै पर्दछ। यो गम्भीर अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइनुपर्दछ।’
सामाजिक सञ्जालमा प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को विरोध भएको छ। तर, यस विषयमा संसदको सबैभन्दा ठूलो दल रास्वपाले कुनै धारणा सार्वजनिक गरेको छैन।
प्रधानमन्त्री शाहले आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने भन्दै सभामुखसँग समय मागेका थिए।
त्यसपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोधे, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र सीमामा थुप्रै समस्याहरू छन्। सीमामा सरकार छ भने सीमा नागरिकले कहिले अनुभूति गर्न सक्छन्?’
त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूलाई अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछिनै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पाइयो, अब दुईवटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ वा उहाँहरूले मिच्नुभएको छ, के छ त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने सोच राखेका छौँ।’







