काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि तोकिएको भए पनि निर्धारित समयमा प्रारम्भ हुन सकेको छैन। बैठक सुरु हुन ढिलाइ भएपछि संसदीय कामकारबाही प्रभावित भएको छ।
आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ का लागि राजस्व तथा व्ययको वार्षिक अनुमानसम्बन्धी विषयमा छलफल अघि बढाउने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो सम्बन्धी वक्तव्य प्रस्तुत गर्दै प्रारम्भिक छलफल अघि बढाउने प्रस्ताव राख्ने तयारी थियो।
संसद् कार्यसूचीअनुसार छलफल सुरु हुनुअघि आकस्मिक समय, शून्य समय तथा विशेष समय सञ्चालन गर्ने संसदीय अभ्यास पनि समावेश गरिएको छ।
तर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेपछि बैठक प्रारम्भ हुन ढिलाइ भएको बताइएको छ। यही राजनीतिक सरगर्मीका कारण प्रतिनिधिसभाको नियमित प्रक्रिया प्रभावित भएको हो।
यसअघि आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा समस्या कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै दुवै देशले अध्ययन तथा वार्तामार्फत सहमतिको बाटो खोज्नुपर्ने बताएका थिए।
उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने तथा उनको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने माग अघि सारेका छन्।







