सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीको भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच भेटवार्ता भएको छ । उनीहरू आज सूचना तथा सञ्चार मन्त्रालयमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

भेटवार्तामा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन् ।

उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा रहेको धारणा राखिन् ।

इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौतीहरू व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा बालमैत्री संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

सो भेटवार्ताका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने बताए ।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भिर्त्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानूनी व्यवस्थाबारे पनि जानकारी गराए ।

सोक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्न आवश्यक रहेको बताए ।

भेटवार्तामा नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।