काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी) ले दूधसहित विभिन्न दुग्धजन्य उत्पादनहरूको मूल्य वृद्धि गरेको छ। संस्थानले आजदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो।
यसअघि प्रतिलिटर ९८ रुपैयाँमा बिक्री हुँदै आएको दूध अब १०० रुपैयाँमा उपलब्ध हुनेछ। डीडीसीले वैशाख २७ गतेदेखि लागू हुने गरी अन्य दुग्धजन्य उत्पादनहरूको मूल्यसमेत वृद्धि गरिसकेको जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार मक्खनमा प्रतिकिलो ५० रुपैयाँ, घिउमा प्रतिकिलो १०० रुपैयाँ, दहीमा प्रतिलिटर १० रुपैयाँ तथा पनिरमा प्रतिकिलो २० रुपैयाँ वृद्धि गरिएको छ।
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीद्वारा उत्पादित ‘याक चिज’को प्रवर्द्धन गरेका थिए। त्यसलगत्तै संस्थानले आफ्ना उत्पादनहरूको मूल्य समायोजन गरेको हो।
दूध तथा दुग्धजन्य वस्तुको मूल्य वृद्धि भएसँगै उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ।







