उन्नाइस लाख बढी मूल्यको फर्सीको बीउ बरामद

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सिरहाले झन्डै साढे १९ लाख रुपैयाँ बराबरको अवैध फर्सीको बीउ बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रूपमा निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले उक्त परिमाणको बीउ बरामद गरेको हो ।

विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार बेलुका बरियारपट्टी गाउँपालिका-२ बस्ने हरिदेव दासको घरमा छापा मारेको थियो । नीज दासको घरमा खानतलासी गर्दा घरको ‘प्यासेज’मा लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबोरा २८ हजार बजार मूल्य पर्ने कुल ७० बोरा फर्सीको बीउ (बियाँ) फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त फर्सीको बीउको कुल मूल्यांकन रु. १९ लाख ६० हजार रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद सामानलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको छ ।