एउटै सिजनमा लाप्राकका १७ जनाले चढे सगरमाथा

गोरखा : आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका–४ लाप्राकका १३ जनाले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पुरबहादुर गुरुङ (युक्त) ले जानकारी दिए।

लाप्राकका पुरबहादुर गुरुङ (युक्त)ले यो वर्ष १०औंपटक सगरमाथाको सफल आरोहण गरेका छन्। त्यस्तै सुमन गुरुङले यो वर्षसहित ८ पटक आरोहण गरेका छन्। इमान गुरुङले यो वर्षसहित ७ पटक, रामबहादुर गुरुङले यो वर्षसहित ४ पटक, सन्दीप गुरुङले ३ पटक, सुजल गुरुङले ३ पटक र बिसबहादुर गुरुङले ३ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

लाप्राकका डम्बर गुरुङ र पूर्णबहादुर गुरुङले यो वर्ष दोस्रोपटक सगरमाथाको आरोहण गरेका छन्। त्यस्तै उत्तम गुरुङ (धने), आसबहादुर गुरुङ (क) र आसबहादुर गुरुङ (ख)ले यो वर्ष पहिलोपटक सगरमाथा आरोहण गरेका छन्।

यसअघि लाप्राकका इमानसिङ गुरुङ, मुलाल गुरुङ, तुल्सिङ गुरुङ र बुद्धबहादुर गुरुङले सगरमाथा आरोहण गरेका छन्। खुम्बुक्षेत्रपछि धेरै आरोही भएका गाउँहरूमध्य गोरखाको लाप्राक पर्छ। यहाँ सगरमाथा र ८ हजार मिटरभन्दा अग्ला अरू हिमाल आरोहण गर्नेहरू पनि धेरै छन्। गोरखाबाट सगरमाथा आरोहण गर्ने आरोहीहरूको संख्या अहिले २७ पुगेको छ।

सबैभन्दा छोटो समय १४ घण्टामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने चुमनुब्री–७ छेकम्पारकी कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामा, १३ दिनमै ३ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आरुघाट–९ आरुटारकी पूर्णिमा श्रेष्ठ, चुमनुब्री–१ का आरोहीहरू नाङ्साल छोदेन लामा, डिकी ल्हामुले पनि सगरमाथाको सफल आरोहण गरिसकेका छन्।

त्यस्तै बारपाक सुलिकोट–३ स्वाँराका अनुप गुरुङ, आरुघाट–३ थुमीका यानबहादुर थापा, उहियाका ओमबहादुर गुरुङ, सिङ्लाका बिसबहादुर गुरुङ र गुम्दाका नानुमाया गुरुङ र मनुमान गुरुङले पनि सगरमाथा आरोहण गरिसकेका छन्। यसले लाप्राकलाई आरोहीको गाउँ भनेर प्रसिद्ध बनाएको उनको भनाइ छ। ‘सगरमाथा होस् वा अरू हिमाल आरोहणमा लाग्नु धेरै राम्रो कुरा हो’, उनी भन्छन्, ‘हिमाल आरोहण भनेको नाम पनि कमाइने, ट्रेकिङ क्षेत्रमा भन्दा यस क्षेत्रमा आम्दानी पनि राम्रो हुने क्षेत्र हो। यसलाई व्यावसायिक रूपमा अपनाउन सके धेरै राम्रो हुन्छ।’