आज मंगल ग्रह नजिकबाट देख्न सकिने

असोज २७, काठमाडौं ।
आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ ।

अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

पृथ्वी र मंगल ग्रह नजिक हुँदा मध्यराति चन्द्रमा जस्तै ठूलो देखिन्छ भन्ने हल्ला निराधार रहेको खगोलशास्त्री बताउँछन् । तर राति घर बाहिर निस्किएर आकासमा हेरेमा अलि ठूलो ताराजस्तो चम्किलो वस्तु देखिने उनीहरूको भनाइ छ ।

खगोल फोटोग्राफर ड्यामियन पिचले बीबीसीसँग भनेका छन्, ‘यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । तपाईं झुक्किनु हुने छैन ।’

मंगलबारको मंगल ग्रहको दृष्य खास मानिएको छ । किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त हुने खगोल फोटोग्राफर डियामियन बताउँछन् ।

मंगल ग्रह पुग्न सहज समय
ग्रहहरु आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । यो कक्ष अन्डाकार हुने भएकाले एक विन्दुमा मंगल ग्रह र पृथ्वी नजिक आउँछन् । र फेरि घुम्दै एकअर्काबाट टाढा पुग्छन् ।

हरेक दुई वर्षमा मंगल ग्रह र पृथ्वी नजिक हुने हुँदा मंगल ग्रहमा जाने मिसन यही मौका पारेर पठाइन्छ । किनभने अन्तरीक्ष यात्राको दुरी कम हुन्छ, थोरै इन्धन र थोरै समयमै मंगल ग्रहमा पुग्न सकिन्छ ।

अहिले मंगल ग्रहका तीन वटा मिसन सक्रिय छन् । युएईको होप ओर्बाइटर, चीनको तियानमेन अर्बाइटर एण्ड रोबर र अमेरिकाको पर्सिवियरेन्स रोबर । यी तीनवटै मिसन गत जुलाई महिनामा मंगल ग्रहमा पठाइएको थियो । युएई, चीन र अमेरिकाको यो मिसन सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहमा पुग्नेछ ।

यसअघि गत सन् २०१८ को जुलाई ३१ मा मंगल ग्रह र पृथ्वी नजिक आएका थिए । त्यसको दुई महिना अघि नासाले मंगल ग्रहको मिसन लन्च गरेको थियो ।

सन् २००३ मा मंगल ग्रह र पृथ्वीबिचको दुरी ३४.८ माइल थियो । अब सन् २०३५ सम्म पृथ्वी र मंगल ग्रह यति नजिक हुने छैनन् ।

मंगल ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यसको सतहमा आइरन अक्साइडको मात्रा अत्यधिक रहेकाले यो रातो देखिन्छ । पृथ्वीको जस्तै मंगल ग्रहमा पनि उत्तर र दक्षिणी ध्रुव छ, जुन बरफले ढाकिएको छ ।

यहाँको न्यूनतम तापक्रम माइनस १४० डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरु बताउँछन् । मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ ।

मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ ।