उत्पादनको मूल्य बढ्यो, दूधको भाउ बढेन

विराटनगर। दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा पछिल्लो समय दुग्धजन्य पदार्थको बिक्री र आम्दानीमा वृद्धि भएको छ। गर्मी मौसम सुरु भएसँगै दही र आइसक्रिमजस्ता उत्पादनको माग बढेपछि आयोजनाको दैनिक बिक्रीबाट संकलन हुने रकम करिब ६ लाख रुपियाँ पुगेको छ। चार महिनाअघि दैनिक करिब ४ लाख रुपियाँ राजस्व संकलन हुने गरेकोमा अहिले बिक्रीमा सुधार देखिएको हो।

बिक्री र आम्दानी बढे पनि आयोजनाले दूध उत्पादक किसानलाई दिनुपर्ने भुक्तानी भने लामो समयदेखि गर्न सकेको छैन। हाल विराटनगर आयोजनाले किसानलाई करिब नौ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। किसानहरूले गत माघ महिनादेखि दूध बिक्रीबापतको रकम पाएका छैनन्।

डिडिसीका उत्पादनको बिक्री बढिरहेको भए पनि किसानहरूले आफूले बिक्री गरेको दूधको मूल्य समयमै नपाउँदा आर्थिक समस्यामा परेको गुनासो गरेका छन्।

उपभोक्तालाई महँगी, किसानलाई उपेक्षा

दुग्ध विकास संस्थान सञ्चालक समितिले गत वैशाख २७ गतेदेखि लागू हुने गरी विभिन्न दुग्धजन्य उत्पादनको मूल्य वृद्धि गरेको छ। उत्पादन लागत, ढुवानी तथा व्यवस्थापन खर्च बढेकाले मूल्य समायोजन गर्नुपरेको संस्थानले जनाएको छ।

संस्थानले घ्यू, पनिर, दही, मिठाईलगायतका उत्पादनको मूल्य बढाएको छ। नयाँ दररेटअनुसार एक लिटर बट्टावाला घ्यूको मूल्य १ हजार ३०० रुपियाँ तथा एक लिटर पाउच घ्यूको मूल्य नौ हजार २५० रुपियाँ पुगेको छ। घ्यूमा प्रतिलिटर ५० रुपियाँ मूल्य वृद्धि गरिएको हो। त्यस्तै, ५०० मिलिलिटर बट्टावाला घ्यूको मूल्य ६५० रुपियाँ र पाउच घ्यूको मूल्य ६२५ रुपियाँ कायम गरिएको छ।

यसैगरी, एक केजी पनिरको मूल्य ८३० रुपियाँ पुगेको छ। दहीको मूल्य प्रतिकेजी १६० रुपियाँ तथा ५०० मिलिलिटर पाउच दहीको मूल्य ७५ रुपियाँ निर्धारण गरिएको छ। संस्थानले १० पिस मिठाईको बट्टाको मूल्य ३१० रुपियाँ तथा २०० ग्राम टेबल बटरको मूल्य पनि ३१० रुपियाँ तोकेको छ।

तर, उपभोक्ताका लागि उत्पादित वस्तुको मूल्य बढाइए पनि किसानसँग खरिद गरिने कच्चा दूधको मूल्यमा भने कुनै वृद्धि गरिएको छैन। यसले गर्दा एकातिर उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ भने अर्कोतिर किसानले पुरानै दरमा दूध बेच्नुपरेको र त्यसको भुक्तानीसमेत समयमै नपाएको अवस्था छ।

विराटनगर आयोजनाले दैनिक औसत ९ हजार लिटर दूध संकलन गर्दै आएको जनाएको छ। जसमध्ये दैनिक करिब ५ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ बिक्री हुने गरेको छ। बाँकी ४ हजारदेखि ४ हजार ५०० लिटर दूध धुलो दूध उत्पादनमा प्रयोग हुँदै आएको छ।

शुक्रबारसम्म आयोजनासँग ९४ मेट्रिक टन धुलो दूध र ४५ मेट्रिक टन बटर मौज्दात रहेको छ। आयोजना प्रमुख नवीन शर्माका अनुसार मौज्दात अत्यधिक नभएको र काठमाडौँलगायतका बजारमा माग बढेसँगै छिट्टै खपत हुने अपेक्षा गरिएको छ।

आयोजनाले झापास्थित निजी कम्पनी एग्रो फुडसँग सम्झौता गरी हप्तामा एकदेखि दुई ट्यांकर दूध बिक्री गर्न थालेको जनाएको छ। यसअघि डिडिसीबाट छुर्पी बनाउन छेना खरिद गर्ने उक्त उद्योगले अहिले बदाम जुस उत्पादनका लागि दूध खरिद गर्न थालेको हो।

लामो समयदेखि भुक्तानी नपाएपछि किसानहरूमा निराशा र असन्तुष्टि बढ्दै गएको छ। उत्पादन लागत बढ्दै जाँदा उचित मूल्य नपाउने र प्राप्त मूल्यसमेत महिनौँसम्म नपाउँदा जीविकोपार्जनमा समस्या भएको किसानहरूको गुनासो छ।

विराटनगर आयोजनाले इलाम, झापा, धनकुटा र मोरङका विभिन्न क्षेत्रबाट दूध संकलन गर्दै आएको छ। केही क्षेत्रमा फागुनसम्मको भुक्तानी भए पनि अधिकांश किसानले पुस–माघ महिनादेखिको रकम अझै पाउन बाँकी रहेको जनाइएको छ।

विराटनगर दुग्ध वितरण आयोजनाले मौज्दात रहेका दुग्धजन्य पदार्थ बिक्री गरेर किसानको बक्यौता रकम छिट्टै भुक्तानी गर्ने आश्वासन दिँदै आएको छ।