काठमाडौँ – सदर चिडियाखाना जावलाखेलका प्रमुख सत्यनारायण साहलाई बर्डफ्लु संक्रमणसम्बन्धी जानकारी समयमै नदिएको आरोपमा पदबाट हटाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले उनीमाथि विभागीय छानबिनसमेत सुरु गरेको छ।
चिडियाखानामा बर्डफ्लु (एच फाइभ एन वान) संक्रमण पुष्टि भएपछि पनि त्यसबारे कोषको केन्द्रीय कार्यालयलाई जानकारी नगराई विषय गुपचुप राखिएको आरोप लागेको हो। कृषि, वन तथा वातावरणमन्त्री एवं कोषकी अध्यक्ष गीता चौधरीको निर्देशनपछि साहलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ।
घटनाबारे अनुसन्धान गर्न कोषले प्रवक्ता तथा प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख मधु क्षेत्री सदस्य छन्। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
कोषले वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहप्रति संवेदनशीलता नदेखाएको भन्दै साहलाई केन्द्रीय कार्यालय तानेको जनाएको छ। उनको स्थानमा वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।
पशु सेवा विभागको परीक्षणबाट चिडियाखानाका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। करिब १० दिनअघिदेखि पक्षी तथा जनावर मर्न थाले पनि त्यसबारे केन्द्रीय कार्यालयलाई जानकारी नदिइएको स्रोतले जनाएको छ।
परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्ध लगायत पक्षी तथा नीरबिरालो र चरीबाघमा समेत संक्रमण देखिएको थियो। संक्रमणका कारण वन्यजन्तु मरेको लामो समयसम्म जानकारी नआएपछि कोषले साहमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
कोषले पछिल्लो समय चिडियाखानामा भएका शृंखलाबद्ध घटना र बर्डफ्लुजस्तो संवेदनशील विषयमा समयमै रिपोर्टिङ नभएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।







