तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार (सुर्खेत) – सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो ।

औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन् । प्रदेश सरकारले अहिलेसम्म नि:शुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ ।

कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताए।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले नि:शुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट वञ्चित भएको बताए यो वर्षमा मात्र नभई प्रत्येक वर्ष औषधि ढिला पठाउँदा कहिले के त कहिले के औषधि अभाव भइरहने गरेको उनले बताए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले प्रदेश सरकारले अस्पतालबाट नि:शुल्क वितरण गरिने ९८ प्रकारका औषधि पठाउनेमा यसपालि अहिलेसम्म नपठाएकाले उच्च रक्तचाप, मधुमेह, मानसिक रोगलगायत औषधिको अभाव भएको बताए । अस्पतालमा उपचार गर्न आएका बिरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न लगाउनुपरेको उनले बताए ।