अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

एजेन्सी । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो ।

“व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले आइतबार इरानमाथि आक्रमण गरेको छ,” सेन्टकमले भनेको छ ।

सेन्टकमले दिएको थप जानकारीमा भनिएको छ, “इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डा भएको तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार आक्रमण गरेको थियो ।

इरानले इन्धन बोकेको ट्याङ्करलाई आक्रमण गरेपछि आइतबार अमेरिकाले प्रतिक्रिया स्वरूप इरानका निश्चित स्थानमा हवाई आक्रमण गरेको वासिङ्टनले बताएको छ ।

सेन्टकमले पछि ट्विटरमा ३५ सेकेन्डको एउटा धमिलो भिडियो पोस्ट गरेको थियो, जसमा आकाशबाट खिचिएको विभिन्न क्षेत्रमा भएको विस्फोट देखिन्छ।

“किकु माथि इरानको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले स्थानीय समय अनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा १० वटा इरानी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेका छन्,” पोस्टमा लेखिएको छ ।

अमेरिकी सेनाले यो पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको थियो।

इरानी सञ्चार माध्यमहरूले दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेका छन्।संयुक्त राज्य अमेरिकाले शुक्रबार पनि इरानले अर्को जहाज ‘एभर लभ्ली’ माथि गरेको आक्रमणको जवाफमा आक्रमण गरेको थियो ।