काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलमार्फत नागरिकसँगको सेवा र संवादलाई थप मैत्रीपूर्ण बनाउने उद्देश्यले ‘नमस्ते सेवा अभियान’ सुरु गरेको छ। अभियानको उद्घाटन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रहरीलाई नागरिकसँग शिष्ट, सरल र सम्मानजनक व्यवहार गर्न तथा कानुन कार्यान्वयनमा भने दृढतापूर्वक प्रस्तुत हुन निर्देशन दिएकी छन्।
सोमबार वसन्तपुरबाट सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रमको शुभारम्भ गर्दै डंगोलले सेवामुखी व्यवहारले स्थानीय सरकारप्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरिन्।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले महानगर प्रहरी बलले थालेको अभियानले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सकारात्मक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
महानगर प्रहरी बलले ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन तथा अनुगमन, अनधिकृत व्यापार नियन्त्रण, विपद् व्यवस्थापन र सम्पदा संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको छ। महानगरपालिकाले नागरिक सचेतना र सेवामुखी व्यवहार अभिवृद्धिका लागि सञ्चालन गरिएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।






