असोज २९, काठमाडौं ।
भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नराभणेले नेपाल भ्रमण गर्ने निश्चित भएको बुझिएको छ । नेपाल र भारतबीच राजनीतिक र कुटनीतिक तहका संबाद औपचारिकतामा सीमित भइरहेका बेला यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरभणे कात्तिक तेस्रो साता नेपाल आउने भएका छन् । उनले कात्तिक १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने गरि तयारी भइरहेको स्रोतको भनाइ छ ।
यद्यपि दुवै पक्षले औपचारिकरुपमा भ्रमणको मिति सार्वजनिक गरेका छैनन् । नेपाली सेनाले मंगलवार विज्ञप्ति जारी गरी भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण कात्तिकमा हुने सार्वजनिक गरेको छ ।
‘विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कार्तिक महिनामा हुने भएको छ,’ जंगी अड्डाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोभिड १९को महामारी शुरु भएयता भारतबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
‘नेपाली सेना र भारतीय सेनाबीच जस्तो सुकै असहज परिस्थितिमा पनि सम्बन्ध स्थिर रहँदै आएको छ । अहिले उच्च राजनीतिक र कुटनीतिक तहमा सार्थक सम्वाद नभएको अवस्थामा पनि सैन्य कूटनीतिक तहमा संबाद हुनुलाई सकारात्मक मान्नुपर्छ,’ नेपाली सेनाका पूर्व उपरथी विनोज बस्न्यातले भने ।
जंगी अड्डाका अनुसार सेनाध्यक्ष नराभणेको नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्न मन्त्रिपरिषद्ले गत १० माघमै सेनालाई स्वीकृति दिएको थियो । उनी गत वैशाखमा नेपाल भ्रमणमा आउने तय भए पनि कोभिड १९ को महामारीका कारण रोकिएको थियो ।
नराभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी लगाइदिने कार्यक्रम छ । नेपाल र भारतका सेनाप्रमुखहरु एकअर्को देशका मानार्थ महारथी हुने प्रचलन रहँदै आएको छ ।
नरभाणेसँग जोडिएको विवाद
भारतीय स्थल सेनाध्यक्ष नराभणेले २ जेठमा नेपालले चीनको उक्साहटमा लिम्पियाधुरासम्मको नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए । तर उनले ३१ जेठमा देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उक्त भनाई सच्याएका थिए ।
नराभणेले नेपालसँग भारतको सधैं मजबुत सम्बन्ध रहेको र भविश्यमा पनि सम्बन्ध सुदृढ रहने जवाफ दिएका थिए । भारतीय स्थल सेनाध्यक्ष नराभणेले जनस्तरको र सभ्यतासँग जोडिएको नेपाल भारत सांस्कृतिक सम्बन्धको व्याख्या गर्दै नेपालसँग सम्बन्ध सुदृढ रहने उल्लेख गरेका थिए ।
उनले नेपालबारे ३१ जेठमा भनेका थिए्, ‘नेपालसँग हाम्रो अत्यन्त मजबुत एवं सुदृढ सम्बन्ध छ । हामीहरुबीच जनस्तरमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ । सधैँ मजबुत रहेको सम्बन्ध भविश्यमा पनि सुदृढ रहनेछ । तर नेपालसँगको सीमा विवादबारे उनले केही प्रतिक्रिया दिएनन् ।’
उनले २ जेठमा भारतको मनोहर पारिकर इन्स्टीच्युट फर डिफेन्स स्टडीज एण्ड एनालाइसिसद्धारा आयोजित वेविनारमा भारतीय सेनाध्यक्षले काली नदीभन्दा पश्चिममा भारतले सडक निर्माण गरेको तर्क गर्दै यसमा विरोधको औचित्य नभएको जिकिर गरेका थिए ।
उनले भनेका थिए, ‘लिपुलेक मानसरोबर सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिन । कालीनदी भन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ म जान्दिनँ । उनीहरुले यो बिषय कसैको उक्साहटमा उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक कोरिडोरबारे बिबाद छैन ।’
नरभणेको भनाईपछि उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी संचारमाध्यम राससलाई अन्तर्वार्ता दिएर कडा आपत्ति जनाएका थिए । नरभणेको भनाइ सार्वजनिक भएलगत्तै भारतीय सेनाका पुर्व लेफ्टिनेन्ट जनरल एवं उत्तरी कमाण्डका पूर्व कमाण्डर डी एस हुडाले द प्रिन्टकी पत्रकार ज्योति मलहोत्रासँग अन्तर्वार्तामा विरोध गरेका थिए ।
हुडाको भनाई थियो, ‘यो कूटनीतीक बिषय हो । कूटनीतिज्ञहरुलाई नै छाडिदिनुपर्छ । सेनाप्रमुखले टिप्पणी गरेर विवादमा आउनु ठीक होइन । उहाँ अनावश्यकरुपमा बिबादमा तानिएर फाइदा छैन । नेपालसँग परिपक्व तरिकाले कुटनीतिकरुपमा डिल गर्नुपर्छ ।’







