सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

असोज २९, सुदूरपश्चिम ।
कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै गएको बेला सेती प्रादेशिक अस्पताल धनगढीमा भने जनशक्तिको अभाव देखिन थालेको छ ।

अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए ।

‘अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ,’ उनले भने, ‘जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।’

अस्पतालमा दश आइसियु (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ ।

अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । आइसोलेसनमा ३६ जनाले उपचार गराइरहेका छन् ।

डाक्टर कमरले पछिल्ला दिनमा समुदायमा कोरोना सङ्क्रमण फैलिँदा पनि सर्वसाधारणबाट तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भइरहेको कमी कमजोरीको कारण सङ्क्रमण दर बढ्दै गएको बताए । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम समेत प्रभावित भएको छ ।

यसैबीच सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा बुधबार ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका समेत गरेर प्रदेशमा कोभिड—१९का कूल सङ्क्रमित आठ हजार दुई सय ९६ पुगेको छ ।

पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै गएका छन् । बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीका सात सय २५ जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित बुधबार एक हजार तीन सय दुई पुगेका छन् ।

चाड पर्व नजिकिदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ । कोभिड–१९को सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई÷दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक गरी १९ जना मृत्यु भएको छ । (रासस)