‘एक्कासी हट्यो’ बर्ड फ्लुसम्बन्धी सचेतनामूलक मोबाइल रिङटोन

काठमाडौं । बर्ड फ्लुसम्बन्धी सचेतनामूलक मोबाइल रिङटोन सुरु भएको केही घण्टामै हटाइएको छ। उक्त रिङटोनले जनचेतना बढाउनुको सट्टा आम उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको भन्दै केही पोल्ट्री व्यवसायीहरूले सम्बन्धित निकायसँग हटाउन पहल गरेका थिए।

स्रोतका अनुसार उक्त पहलपछि नेपाल टेलिकमले बर्ड फ्लुसम्बन्धी रिङटोन हटाइसकेको छ भने एनसेलले पनि छिट्टै हटाउने जानकारी दिएको छ।

व्यवसायीहरूले बर्ड फ्लुबारे सही, तथ्यपरक र सन्तुलित सूचना प्रवाह आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार सचेतनामूलक सन्देशको प्रस्तुतीकरण गर्दा जनस्वास्थ्यसँगै उद्योगको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ। त्रास फैलाउने शैलीका सन्देशले उपभोक्तामा अनावश्यक भय उत्पन्न हुँदा कुखुराको मासु र अण्डाको उपभोगमा कमी आउन सक्ने तथा त्यसको प्रत्यक्ष असर पोल्ट्री उद्योगमा पर्ने उनीहरूको भनाइ छ।

व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा यस्ता सन्देशका कारण पोल्ट्री व्यवसायी, किसान तथा दाना उद्योग आर्थिक रूपमा थप प्रभावित हुने जोखिम बढेको छ।