असोज २९, काठमाडौं ।
भारतको उत्तर प्रदेशमा महामारीकै बीचमा मनोरञ्जन उद्योग खुलेका छन् । त्यहाँको राज्य सरकारले सिनेमा हललाई लाइसेन्स दस्तूरमा समेत छुट दिएको छ ।
उत्तर प्रदेश सरकारले बुधबार यस्तो घोषणा गरेको हो । राज्य सरकारले गरेको निर्णय अनुसार मल्टिप्लेक्स र सिनेमा हलले एप्रिलदेखि सेप्टेम्बरसम्मको लाइसेन्स फि तिर्नुपर्ने छैन । यस अवधिमा भारतमा लकडाउन घोषणा गरिएको थियो र मनोरञ्जनका अन्य स्थानझैं सिनेमा हलहरू पनि बन्द थिए ।
यसले लकडाउनका कारण बन्द भएका सिनेमा हललाई ठूलो राहत हुने प्रदेश सरकारको अपेक्षा छ । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश सिनेमा (नियमन) अधिनियम, १९५५ को धारा १० बमोजिम यो छुट दिइएको बताएका छन् ।
राज्य सरकारले सिनेमा घरमा कोभिड प्रोटोकल भने अनिवार्य पालना हुनुपर्ने बताएको छ । यसका साथै त्यहाँका सिनेमा हल बिहीबार अर्थात् १५ अक्टुबरदेखि खुलेका छन् ।







