कोरोना संक्रमित बढेपछि फ्रान्समा रातमा कर्फ्यु घोषणा

असोज २९, काठमाडौं ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रोँले कोरोना नियन्त्रणका लागि राजधानी पेरिससहित नौ सहरमा कर्फ्यु लगाएका छन् । ती सहरमा राति नौदेखि बिहान ६ बजेसम्म बाहिर ननिस्किन आदेश दिइएको छ ।

राष्ट्रपति मैक्रोँले टेलिभिजनमा एक अन्तरवार्ता दिँदै शनिबारबाट कर्फ्यु लागू हुने र कम्तिमा पनि चार सातासम्म रहने बताए । साथै फ्रान्सले आफ्नो देशमा स्वास्थ्य आपतकाल लागू गरेको छ ।

त्यहाँ बुधबार मात्र झन्डै २३ हजार नयाँ संक्रमित भेटिएका छन् । फ्रान्स मात्र नभइ सिंगै युरोपमा कोरोनाको दोस्रो लहरसँग जुध्न नयाँ नयाँ प्रतिबन्ध लगाइँदैछ ।

नेदरल्यान्डमा स्थानीय समयानुसार राति १० बजेदेखि आंशिक लकडाउन लागू गरिएको बिबिसीले जनाएको छ । यस अघि बुधबार स्पेनको उत्तरपूर्वी क्षेत्र कैटालोनियाले बिहीबारदेखि बर र रेस्टुरेन्ट १५ दिनका लागि बन्द गरिने निर्णय गरेको थियो ।

चेक गणराज्यमा समेत विद्यालय र बार बन्द गरिएका छन् । त्यहाँ पछिल्ला दुई हप्तामा प्रति एकलाख पाँच सय ८१ भन्दा बढी संक्रमित भेटिन थालेका छन् । यो युरोपमै सबैभन्दा बढी हो ।

युरोपभर कोरोना संक्रमण बढिरहेको छ । बुधबार मात्र झन्डै २ सय ४० को मृत्यु भएको छ ।

यसै कारण पनि फ्रान्सले नयाँ प्रतिबन्ध लागू गरिरहेको छ । राष्ट्रपति मैक्रोँले मार्च एप्रिलमा कोरोना फैलिएको बेलाको भन्दा यो लहर नितान्त भिन्न भएको बताएका छन् । किनकी त्यो समय पुरै फ्रान्समा संक्रमण फैलिएको थियो ।

अहिले राजधानी पेरिस समेत नौ सहरमा राति कर्फ्यु लगाउने घोषणा भएको छ । राष्ट्रपतिले भनेका छन् कि सुरुआतका चार सातासम्म कर्फ्यु जारी रहन्छ र त्यसपछिको अवस्था हेरेर सरकारले थप्ने वा नथप्ने निर्णय गर्नेछ ।

कफ्र्युका बेला मान्छे अर्काको घर वा रेस्टुरेन्टमा जान पाउने छैनन् । केही विशेष वा आपतकालीन अवस्था नआइकन निस्किन पाइने छैन । ठोस कारण भए मात्र निस्किन पाइनेछ ।

त्यहाँका विद्यालय भने खुल्ला रहने र दिउासो मान्छे आवतजावत तथा यात्रा गर्न सक्ने बताइएको छ । राष्ट्रपति मैक्रोँले भनेका छन्, ‘हामीले भाइरसको संक्रमण रोक्न यी कदम उठाउनैपर्यो ।’

उनले कर्फ्युमा बाँच्नु कठिन भएको आफूलाई थाहा भएको समेत बताए । (एजेन्सी)