असोज २९, विराटनगर ।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचाररत दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।
मृतकमा विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुष छन् । उनको बिहीबार बिहान मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनमा यही असोज २१ गते कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि सोही दिन उनी केन्द्रमा भर्ना भएका थिए । मृतक उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी रोगी रहेको अस्पतालले जनाएको छ ।
यसैगरी सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको समेत बुधबार राति मृत्यु भएको छ । केन्द्रका व्यवस्थापक बस्नेतका अनुसार ती व्यक्तिमा यही असोज २६ गते कोरोना पुष्टि भएको थियो ।
उनलाई पनि श्वासप्रश्वासको समस्या भएपछी बुधबार उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो । मृतक मधुमेह, उच्च रक्तचाप र कोल्स्ट्रोलको दीर्घ रोगी थिए । उपचारको क्रममा उनको मृत्यु भएको हो ।






