काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले आफ्नो पदबाट राजीनामा दिएका छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको प्रतिबन्धपछि उत्पन्न अन्योलपूर्ण परिस्थितिका कारण आफूले जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उनले बताएका छन्।
इटाली मूलका प्रशिक्षक एरेनाले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै फिफाको प्रतिबन्धका कारण नेपालमा फुटबल विकासका लागि तयार पारेका योजनाहरू कार्यान्वयन गर्न असम्भव भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “हालको परिस्थितिमा मैले अघि सारेका फुटबल विकासका योजनालाई अगाडि बढाउन सकिँदैन। यो अवस्थाले मलाई निकै निराश बनाएको छ। अहिले नेपाली फुटबल गतिविधि नै ठप्पजस्तै भएको छ।”
फिफाको प्रतिबन्धपछि नेपाली फुटबल प्रशासन र राष्ट्रिय टोलीको भविष्य अन्योलमा परेको बेला एरेनाको राजीनामाले थप चुनौती सिर्जना गरेको छ।







