बर्ड फ्लु लक्षित २४सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

काठमाडौं, असार २८। नेपालमा पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल भेटेरिनरी एशोसिएसनले २४सै घण्टा हटलाइन तथा निःशुल्क टेलिपरामर्श सेवा पुनः सञ्चालन गरेको छ।

एशोसिएसनका अनुसार मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने पोल्ट्री क्षेत्रमा प्रत्यक्ष असर पार्ने बर्ड फ्लु एक तीव्र संक्रामक तथा जुनोटिक भाइरसजन्य रोग भएकाले किसान, पोल्ट्री व्यवसायी, मासु तथा अण्डा उपभोक्ता तथा सर्वसाधारणलाई सही सूचना, वैज्ञानिक परामर्श तथा आपतकालीन प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले यो सेवा पुनः सञ्चालन गरिएको हो।

फोन नम्बर ११५९ मा निःशुल्क सम्पर्क गरी सेवा लिन सकिने यस हटलाइनमा पोल्ट्री विज्ञान, पक्षी रोग, महामारी विज्ञान तथा पशु स्वास्थ्य क्षेत्रमा अनुभव प्राप्त विशेषज्ञ भेटेरिनरी चिकित्सकहरू स्वयंसेवी रूपमा आबद्ध रहेका छन्। एशोसिएसनले यसअघि सफलतापूर्वक सञ्चालन गरेको २४×७ टेलिपरामर्श सेवाको अनुभवका आधारमा हालको बर्ड फ्लु जोखिमका बेला सेवा पुनः सञ्चालन गरिएको जनाएको छ।

नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदी ले बर्ड फ्लु नियन्त्रणमा किसान, व्यवसायी तथा उपभोक्ताले अफवाहमा विश्वास नगरी आधिकारिक सूचना र विशेषज्ञ परामर्श लिन आग्रह गर्नुभएको छ। उहाँले हटलाइन सेवाको अधिकतम उपयोग गर्न सबै सरोकारवालासँग अनुरोध गर्नुभयो।

त्यस्तै, महासचिव डा. शंकर न्यौपाने ले बर्ड फ्लु सम्बन्धी परामर्शका साथै सबै प्रकारका पशुधनका लागि राष्ट्रियस्तरको विकास गर्ने लक्ष्यका साथ हटलाइन सेवा पुनः सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार यस सेवामार्फत बर्ड फ्लु सम्बन्धी आधिकारिक तथा वैज्ञानिक जानकारी, शंकास्पद लक्षण देखिएका कुखुरा तथा अन्य पक्षीबारे प्रारम्भिक प्राविधिक परामर्श, रोगको रिपोर्टिङ तथा सम्बन्धित सरकारी निकायसँग समन्वयका लागि मार्गदर्शन, मासु तथा अण्डाको सुरक्षित उपभोग सम्बन्धी सुझाव, अवधारणाबारे जनचेतना तथा आकस्मिक पशु स्वास्थ्य समस्याका लागि प्रारम्भिक टेलिमेडिसिन सेवा उपलब्ध गराइनेछ।

नेपाल भेटेरिनरी एशोसिएसनले बर्ड फ्लुबाट आफ्ना पन्छी, व्यवसाय तथा परिवारलाई सुरक्षित राख्न सबैमा सचेत रहन आग्रह गरेको छ। एशोसिएसनले फार्ममा जैविक सुरक्षा का उपायहरू कडाइका साथ अपनाउन, बिरामी वा मरेका पन्छीलाई खाली हातले नछुन, असामान्य लक्षण वा अचानक मृत्यु देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन तथा कुखुराको मासु र अण्डा सधैं राम्ररी पकाएर मात्र उपभोग गर्न अनुरोध गरेको छ।

त्यसैगरी, रोगी वा शंकास्पद पक्षीको अनधिकृत ओसारपसार नगर्न, पशु सेवा विभागबाट जारी भएका निर्देशनहरूको पूर्ण पालना गर्न तथा कुनै शंका वा जानकारी आवश्यक परेमा हटलाइन ११५९ मा सम्पर्क गर्न एशोसिएसनले सबैसँग आग्रह गरेको छ।

“पशु स्वास्थ्य र जैविक सुरक्षा नै मानव स्वास्थ्यको आधार हो,” भन्दै एशोसिएसनले बर्ड फ्लु नियन्त्रणमा सरकार, भेटेरिनरी प्राविधिक, किसान, पोल्ट्री व्यवसायी, सञ्चारमाध्यम तथा उपभोक्ताबीचको समन्वय र सचेतना अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएको छ।