काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले सञ्चारगृहको गेटअघि गाडी तेर्स्याइएको घटनाको निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनाप्रति पार्टीको धारणा स्पष्ट रहेको बताए।
उनले भने, “तत्कालका लागि कसरी टुंग्याइयो, समायोजन गरियो वा के मुद्दा लगाइयो भन्ने छुट्टै विषय हो। तर यस्तो प्रवृत्ति अस्वाभाविक छ। यसबारे पार्टीले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको छ र त्यसमा हामी अडिग छौँ।”
सभापति लामिछानेले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने धारणा व्यक्त गरे। उनले रास्वपाले आफ्नै सांसदलाई पनि ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै कानुनी प्रक्रिया निष्पक्ष हुनुपर्नेमा जोड दिए।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको भेटवार्ताबारे जानकारी दिँदै लामिछानेले सुकुम्वासी समस्या समाधानलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने विषयमा छलफल भएको बताए।
उनले भने, “विशेषगरी सुकुम्वासी समस्या समाधानका लागि आवश्यक कामलाई प्रभावकारी बनाउनुपर्छ। आमनागरिकले अनावश्यक दुःख पाउनु हुँदैन। त्यसको व्यवस्थापनका विषयमा विस्तृत छलफल भयो।”
लामिछानेका अनुसार बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको भेटमा राष्ट्रिय राजनीति तथा देशको भावी परिस्थितिबारे पनि छलफल भएको थियो। उनले छलफल परिणाममुखी रहेको बताए पनि त्यसबारे थप विवरण खुलाउन चाहेनन्।






