नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

त्यसै व्यवस्थाअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आव २०८२/८३ को कारोबार विवरणसहितको अन्तिम मौज्दात प्रमाणित गरी आव २०८३/८४ को कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै उपमहानगरपालिकाले २०८३ असार ३२ गते राति १२:०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसार कार्य बन्द गर्न आग्रह गरेको हो ।