घुस प्रकरणमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद सजाय

काठमाडौं। विशेष अदालतले घुसकाण्डमा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललाई ८ वर्ष कैद सजाय सुनाएको छ।

बिहीबार (असार ३२) विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो।

व्यवसायी दीपक आनन्दसँगको घुस प्रकरणमा मुछिएका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दाको सुनुवाइपछि अदालतले विशिष्ट श्रेणीको सार्वजनिक पदमा रहँदा घुस लिएको ठहर गर्दै उनलाई ८ वर्ष कैदका साथै थप ६ महिना कैद सजाय पनि सुनाएको छ।

उक्त मुद्दामा घुस दिएको अभियोगमा व्यवसायी दीपक आनन्द पनि दोषी ठहर भएका छन्। अदालतले उनलाई पनि ८ वर्ष कैद सजाय तोकेको छ।

अदालतले घुसस्वरूप लेनदेन भएको ३ करोड ८ लाख रुपैयाँ दामासाहीका आधारमा बाँडेर सुनील पौडेल र दीपक आनन्दबाट जनही १ करोड ५४ लाख रुपैयाँका दरले जरिवाना असुलउपर गर्ने फैसला गरेको छ।