मुग्लिन–नागढुंगा सडकखण्डमा पहिरो , सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । मुग्लिङ–नागढुंगा सडकखण्ड (पृथ्वी राजमार्ग) अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित वासिङमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार बिहीबार साँझ करिब १८:२० बजे सडक माथिबाट एक्कासी सुख्खा पहिरो खसेपछि दुवैतर्फको यातायात ठप्प भएको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सडक विभागसँग समन्वय गरी आवश्यक उपकरण प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले बताएको छ ।

पहिरोका कारण काठमाडौं–पोखरा आवतजावत गर्ने सवारीसाधनसहित अन्य गन्तव्यका यात्रुहरू प्रभावित भएका छन् । प्रहरीले उक्त सडकखण्ड प्रयोग गर्ने यात्रुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय धादिङले जवाङ खोलामा ठूलो पहिरो खसेको र पहिरो खस्ने क्रम अझै जारी रहेको जनाएको छ । जोखिम बढेपछि प्रशासनले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको जानकारी दिएको छ ।