तीन मन्त्रीको पदभार ग्रहण : कसैले कर्मचारी थर्काए, कसैले पत्रकार फर्काए

सिंहदरवारमा चर्चा : इश्वर पोखरेल नै हुन प्रधानमन्त्री !

असोज, २९ काठमाडौं । बुधबार नवनियुक्त तीन जना मन्त्रीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणमा विगतमा भन्दा केही भिन्दै दृष्यहरु देखिए ।

पदभार ग्रहणमा मन्त्रालयहरुमा विगतमा जस्तो तामझाम थिएन । बढी भीड होला भनेर नवनियुक्त मन्त्रीहरु दिउँसो १ बजेको समयमा एउटै समय पारेर सिंहदरवार गए । थोरै कर्मचारीले फुल मालाले स्वागत गरे । कार्यक्रताको भीड देखिन्नथ्यो, थोरै मात्रै सञ्चारकर्मीहरु पुगेका थिए ।

पदभार ग्रहण गरेपछि मन्त्रीहरुले दिने अभिव्यक्तिमा पनि विगतमा भन्दा केही फरकपन महसुस भयो ।

जिम्मेवारी हेरफेरमा परेर महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीबाट हटेर सञ्चार मन्त्रालयको जिम्मेवारीमा पुगेका पार्वत गुरुङले पौने घण्टादेखि स्वागतका लागि कुरेर बसेका कर्मचारीलाई नै थर्काए ।

‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बांगोटिगों बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु’ उनले भने, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’

मन्त्री गुरुङले आन्तरिक छलफलमा वा बृफिङमा यो भन्न सक्थे । तर, मिडियालाई अगाडि राखेर कर्मचारीहरुलाई यस्तो चेतावनी दिए । गुरुङको यस्तो अभिव्यक्ति उनकै मन्त्रालयका कर्मचारीले चित्त बुझाएनन् ।

‘काम गर्छु भन्दै हुनुहुन्छ तर, आएकै दिन मिडिया अगाडि राखेर कर्मचारीलाई थर्काउँदै रुखो बोलेर पपुलर हुन खोज्दैहुनुहुन्छ । मन्त्रीको कुरा सही होला तर, समय र ठाउँ गलत भयो’ गुरुङको भाषण सुनिसकेपछि सञ्चार मन्त्रालयका एक कर्मचारीले बताए ।

उता, अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध गरियो ।

यसपटक नयाँ मन्त्री हुनेहरुमा सबैभन्दा बढी चासो लिएका व्यक्ति हुन नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि कर्मचारीहरु र सञ्चारकर्मीहरु पौने १२ बजेदेखि मन्त्रालय हातामा खडा भएर बसेका थिए ।

एक बजेर २४ मिनेट जाँदा मन्त्रालय पुगेका मन्त्री पौडेलले झण्डै दुई घण्टा लामो प्रतीक्षामा बसेका सञ्चारकर्मीहरुलाई कोरोनाको त्रास हुन्छ भन्दै पदभारग्रहणको फोटो लिन र त्यसक्रममा बोल्ने, हस्ताक्षर गर्ने विषयको समाचार लिनबाट रोके । अर्थात, मूलढोकाबाटै पत्रकार फर्काइदिए ।

नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भने खास फरक अभ्यास र अभिव्यक्ति दिएनन् ।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाए । यस्तो प्रतिवद्धता जो जो मन्त्री भएका छन सबैले जनाउने गरेका छन् ।

सिंहदरवारमा चर्चा : इश्वर पोखरेल नै हुन प्रधानमन्त्री !

सिंहदरवार भित्र इश्वर पोखरेलको अनेक कोणबाट चर्चा छ । खासगरी कर्मचारीहरु र सांसदहरु पोखरेल कुन भूमिकामा रहने हुन भन्ने अन्योलमा छन र अनेकन अड्कल काटिरहेका भेटिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

सिंहदरवारमा भेटिएका एक पूर्व सांसद केही कर्मचारी र पत्रकारलाइए अगाडि राखेर भाषण दिइरहेका थिए ‘यो त उहाँको बढुवा हो । प्रधानमन्त्री शारिरिक रुपमा अस्वस्थ छन् । राजनीतिक रुपमा पार्टीमा, बाहिर मिलाउनुपर्ने छ । पोखरेल नेकपाको कार्यदलमा भएको, प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति हो । त्यसकारण इश्वर पोखरेल नै हुन प्रधानमन्त्री । पोखरेलले जे भन्नुहुन्छ त्यसैमा सहीछाप गरेर बसेपछि प्रधानमन्त्री को हुन्छ त ?’

सिंहरदवारमा चलेको चर्चा जस्तै पोखरेललाई प्रधानमन्त्रीको पद नदिएर त्यो भूमिका दिइएको बुझेर हो वा कुन कोणबाट हो लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलले उपप्रधानमन्त्री पोखरेललाई बधाई दिँदै भनेका छन्, ‘उप्रधानमन्त्री तथा मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने नयाँ जिम्मेवारी प्राप्त गर्नुभएकोमा कमरेड ईश्वर पोखरेललाई हार्दिक बधाई । तपाईको भूमिकाबाट सरकारको समग्र काम थप प्रभावकारी हुने विश्वाससहित शुभकामना ।’

ईश्वर पोखरेल दिउँसो तीन बजे पुतली बगैचाबाट विदा भए । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा गएर पदभार ग्रहण गरे । तर, कुन मन्त्रीको रुपमा ? त्यो चाहीँ स्पष्ट भएन ।

पोखरेलको लागि मन्त्रालयका सचिव सचिव यादवप्रसाद कोइराला बस्ने ठाउँमा कार्यकक्ष तयार गरिएको छ ।