पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६२ वटा विपद्जन्य घटना भएका छन्। यस अवधिमा बाढी, पहिरो, डुबान, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना विभिन्न जिल्लामा भएका हुन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। सर्पदंशका कारण दुई जनाको मृत्यु भएको र ११ जना घाइते भएको उनले जानकारी दिइन्। सर्पदंशका घटनाबाट नौ जिल्ला प्रभावित भएका छन् भने पहिरोका कारण दुई जना घाइते भएका छन् र ११ जिल्ला प्रभावित भएका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ११ वटा सडक अवरुद्ध भएका छन्। सार्वजनिक गरिएको दैनिक विपद् बुलेटिनमा विपद्का कारण करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको उल्लेख छ। साथै, घटनामा छ वटा चौपायासमेत क्षति भएका छन्।

तथ्याङ्कअनुसार १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण र तीन वटा बाढीका घटना भएका छन्। यी घटनाबाट ४७ जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा राहतका लागि सुरक्षा निकायका २६७ जना जनशक्ति परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यमदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने पूर्वानुमान गर्दै प्राधिकरणले विपद् प्रतिकार्यका लागि आवश्यक तयारीसमेत गरेको जनाएको छ।