बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते

मस्को । रुसको बेल्गोरोद क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका युक्रेनी ड्रोन आक्रमणमा परी १० जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन्। क्षेत्रीय कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभाएभले उक्त जानकारी दिएका हुन्।

क्षेत्रीय परिचालन मुख्यालयका अनुसार बेल्गोरोदका तीन जिल्लामा भएका आक्रमणमध्ये एक घटनामा एक सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गभर्नर शुभाएभका अनुसार पछिल्लो २४ घण्टामा बेल्गोरोद क्षेत्रमा १८३ वटा युक्रेनी ड्रोन खसालिएको छ। साथै, सोही अवधिमा युक्रेनले ‘मल्टिपल लन्च रकेट सिस्टम’ (एमएलआरएस) र तोपखानामार्फत सात पटक गोलाबारी गरेको तथा दुई पटक ड्रोनमार्फत विस्फोटक पदार्थ खसालेको उनले बताए।

रुस–युक्रेन द्वन्द्वको पछिल्लो चरणसँगै बेल्गोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणको तीव्रता बढ्दै गएको रुसी अधिकारीहरूको दाबी छ। स्थानीय प्रशासनको दैनिक विवरणअनुसार, गत साता मात्रै उक्त क्षेत्रमा हरेक दिन ९० भन्दा बढी ड्रोन खसालिएको जनाएको छ।

यसैबीच, रुसी रक्षा मन्त्रालयले रातभर रुसका विभिन्न क्षेत्रमा २०९ वटा युक्रेनी ड्रोन खसालिएको जनाएको छ। मन्त्रालयले भने ती आक्रमणबाट भएको सम्भावित क्षति वा अन्य विवरण सार्वजनिक गरेको छैन।