महानगरद्वारा बेसाहाराको उद्धार

असोज ३०, मोरङ ।
विराटनगर महानगरपालिकाले नगरका सडकमा बेसाहारा भइ कठिन जीवनयापन गरिरहेका १२ सडक मानवलाई बिहीबार उद्धार गरेको छ ।

महानगरका प्रमुख भीम पराजुलीले विराटनगर–९ स्थित पुरानो गुद्री आसपास क्षेत्रमा बस्दै आएका बेसहारालाई उद्धार गरेका छन् । विराटनगर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्धार गरिएको हो ।

यसरी उद्दार गरिएकालाई विराटनगर–१० मा रहेको मानव सेवा आश्रममा लगिएको छ । यस अघि विराटनगर महानगरले २० जनाको उद्धार गरिसकेको छ ।

लागुऔषध प्रयोगकर्ता र घरबारविहीन भएर बेसहारा जीवन बिताइरहेकाको पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ ।

उद्धार गरिएकामध्ये दुई जनालाई विराटनगर–३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ । नगरप्रमुख पराजुलीले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउँदै बेसहारा मानिसको उचित व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख रूपैयाँ दिने गरेको जानकारी दिए । (रासस)