काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आइतबार भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग ३–२ सेटले पराजित भएको हो।

नेपालले पहिलो सेट २५–१८ ले जित्दै उत्कृष्ट सुरुवात गरेको थियो। तर दोस्रो सेटमा बंगलादेशले २५–१९ को जित निकाल्दै खेललाई १–१ को बराबरीमा ल्यायो।

तेस्रो सेटमा नेपालले पुनः लय समात्दै २५–२१ को जित हात पार्‍यो। चौथो सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि नेपाल २५–२३ ले पराजित भएपछि खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो।

निर्णायक सेटमा भने बंगलादेशले १५–११ को जित निकाल्दै ३–२ सेटले खेल आफ्नो पक्षमा पार्‍यो।

यसअघि नेपाल कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पनि पराजित भइसकेको छ। लगातार चार हारसँगै नेपालको चुनौती थप कठिन बनेको छ।

नेपालले राउन्ड रोबिन चरणको आफ्नो अन्तिम खेल सोमबार उज्बेकिस्तानविरुद्ध खेल्नेछ।