काठमाडौँ – धितोपत्र बजारमा आज सेयर कारोबार उत्साहजनक रहँदै नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ।
ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ मा पुगेको छ। फ्लोट सूचक एक अङ्कले वृद्धि भई १८४ दशमलव ५९ कायम भएको छ भने सेन्सेटिभ फ्लोट सूचक पनि शून्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ पुगेको छ।
आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।
कारोबारमा सहभागी १३ उपसमूहमध्ये ११ उपसमूह हरियालीमा रहे भने दुई उपसमूह मात्रै घटेका छन्। त्यस्तै, १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। विपरीत रूपमा बोर्टलर्स नेपाल (तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन्।







