प्रमुख निर्वाचन आयुक्तसहित तीन जनाको पदबहाली

काठमाडौं । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर काकी, निर्वाचन आयुक्तहरू गरुडप्रसाद वाग्ले र डा. राजीव सुवेदीले पदबहाली गरेका छन् ।

पदबहालीपछि बसेको आयोगको पहिलो बैठकले निर्वाचन सुधारसँग सम्बन्धित विभिन्न कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय समेत गरेको छ ।

बैठकले हाल संसद्मा विचाराधीन रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयक अनुरूप एकीकृत निर्वाचन व्यवस्थापन नियमावली को मस्यौदा तयार गर्ने, निर्वाचनमा आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी अवधारणापत्र तयार गर्ने तथा मतदाता नामावलीलाई त्रुटिरहित, अद्यावधिक र विश्वसनीय बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।